आजको युग ज्ञान, विज्ञान र प्रविधिको युग हो । शिक्षा जीवनको प्रकाश मात्र नभई आधुनिक समाजको मेरुदण्ड हो । विश्व द्रुत गतिमा अघि बढिरहेको छ, प्रतिस्पर्धा तीव्र हुँदै गएको छ, यस्तो अवस्थामा शिक्षा बिना जीवन अन्धकारमा फस्छ भन्ने कुरा स्पष्ट छ । अहिलेको शिक्षा अघिल्ला पुस्ताका जस्तो केवल "पढाइ–लेखाइ" मा सीमित छैन । शिक्षा अब जीवनयापनको कला, सीप र व्यवहारसँग प्रत्यक्ष जोडिएको छ । सूचना प्रविधि (ICT), कृत्रिम बुद्धिमत्ता (AI), अनलाइन शिक्षण, इ–लाइब्रेरी, डिजिटल क्लासरूम, भर्चुअल लर्निङ जस्ता नयाँ–नयाँ पद्धतिहरूले शिक्षालाई सरल, सहज र प्रभावकारी बनाइदिएका छन् । अघिल्लो पुस्ताले शिक्षकलाई मात्र ज्ञानको स्रोत मान्थ्यो तर अहिले विद्यार्थी आफैं पनि ज्ञान उत्पादन गर्ने, बाँड्ने र सिर्जना गर्ने क्षमतासहित अघि बढिरहेका छन् । शिक्षामा अब आलोचनात्मक सोच, समस्या समाधान क्षमता, सिर्जनशीलता, नेतृत्व र भावनात्मक बुद्धिमत्ता जस्ता पक्षलाई जोड दिइएको छ । नेपालकै सन्दर्भमा हेर्दा, शिक्षा अझै चुनौतिपूर्ण भए पनि अवसरहरू पनि प्रशस्त छन् । गाउँ–गाउँसम्म इन्टरनेट पुगेको छ, अनलाइन शिक्षा प्लेटफर्मले दुर्गम क्षेत्रका विद्यार्थीलाई समेत सिकाइमा जोडेको छ । तर, शिक्षा सबैका लागि गुणस्तरीय बनाउन राज्य, समाज र परिवार सबैको साझा प्रयास जरुरी छ । निष्कर्षमा भन्नुपर्दा, शिक्षा केवल परीक्षा पास गर्ने साधन नभई जीवनलाई अर्थपूर्ण, समाजलाई सबल र राष्ट्रलाई समृद्ध बनाउने मुख्य आधार हो । आधुनिक शिक्षाले केवल किताबकै ज्ञान नभई व्यावहारिक सीप, आलोचनात्मक सोच र नैतिक मूल्यमा आधारित भएर अघि बढ्नुपर्नेछ ।
धन्यबाद।
