बिद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणीय सम्बन्ध: शिक्षाको आधारस्तम्भ" विद्यालय भन्नाले भवन होइन, एउटा सजीव शैक्षिक समुदाय हो। र यस समुदायको निर्माण बिद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणीय सम्बन्धबाट हुन्छ। यी तीन कुना आपसमा यसरी गाँसिएका छन् कि एउटाको सुदृढताले अर्काको विकासलाई गति दिन्छ भने एउटामा भएको कमजोरीले पूरै संरचनालाई अस्थिर बनाउँछ। बालबालिकाको सर्वाङ्गीण विकासको लागि यो त्रिकोणीय सम्बन्ध अत्यन्तै महत्त्वपूर्ण छ। शिक्षक र अभिभावक: सहयोगीहरूको भूमिका शिक्षक र अभिभावक बिद्यार्थीको जीवनका दुई मुख्य स्तम्भ हुन्। अभिभावकले सुरुवाती शिक्षा, संस्कार र सामाजिक मूल्यहरूको बीउ रोप्ने गर्छन् भने शिक्षकले त्यसलाई विज्ञान, गणित, साहित्य, कला र जीवनका विविध विषयहरूको माध्यमबाट फल्न-फुल्न मद्धत गर्छन्। दुवैको लक्ष्य एउटै हो – बालबालिकाको सर्वाङ्गीण विकास। तर प्रायः यस्तो हुन्छ कि अभिभावकले विद्यालयलाई सबै जिम्मेवारीको केन्द्र मान्छन् र शिक्षकले अभिभावकलाई बिद्यार्थीको कमजोरीको लागि जिम्मेवार ठान्छन्। यसले गर्दा सम्बन्धमा दरार पर्छ र अन्ततः बिद्यार्थीको नै हानि हुन्छ। सम्बन्धमा सहकार्यको आवश्यकता सकारात्मक सम्बन्धको लागि निम्न कुराहरू आवश्यक छन्:
१. नियमित संवाद: केवल सामान्य सभा वा रिपोर्ट कार्डमै सम्बन्ध सीमित नराखी नियमित रूपमा फोन कल, सन्देश वा भेटघाटको माध्यमबाट सम्पर्क राख्नुपर्छ। बिद्यार्थीको प्रगति र समस्याको बारेमा खुला रूपमा कुराकानी हुनुपर्छ।
२. पारस्परिक सम्मान: शिक्षकले अभिभावकको अनुभव र जीवनज्ञानलाई सम्मान गर्नुपर्छ भने अभिभावकले शिक्षकको पेशागत योग्यता र प्रयासलाई कदर गर्नुपर्छ। एकअर्काको भूमिकालाई महत्त्व दिनुपर्छ। ३. साझा लक्ष्य: बिद्यार्थीको शैक्षिक, सामाजिक, भावनात्मक र नैतिक विकासलाई साझा लक्ष्य बनाएर काम गर्नुपर्छ। बिद्यार्थीले कसरी राम्रो गर्छन् भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ, कसले कसलाई दोष दिन्छ भन्नेमा होइन। ४. सहभागिता: अभिभावकले विद्यालयका विविध कार्यक्रमहरूमा सहभागी हुनुपर्छ र शिक्षकले पनि अभिभावकको सुझावलाई गम्भीरतापूर्वक लिनुपर्छ। बिद्यार्थीको भूमिका: केन्द्रमा रहेको कडी यो त्रिकोणको सबैभन्दा महत्त्वपूर्ण कडी बिद्यार्थी नै हो। शिक्षक र अभिभावकबीचको सकारात्मक सम्बन्धले बिद्यार्थीलाई सुरक्षित, मूल्यवान र प्रोत्साहित महसुस गराउँछ। उसको सिकाइको प्रक्रिया निरन्तर र सहज बन्छ। उसले आफूमाथि गरिएको विश्वास र अपेक्षालाई पूरा गर्न प्रेरित हुन्छ। बिद्यार्थी, शिक्षक र अभिभावकको सम्बन्ध एउटा साझा यात्रा हो। यो यात्रा सहकार्य, विश्वास र सम्मानको मार्गद्वारा नै सफल बन्छ। तीनैजना एकअर्काको पूरक हुन्। एउटै लक्ष्यतर्फ बढ्ने यो त्रिकोण जति सुदृढ हुनेछ, बालबालिकाको भविष्य पनि त्यति नै उज्ज्वल हुनेछ। त्यसैले, आउनुहोस्, यो त्रिकोणलाई मजबूत बनाउँदै बालबालिकाे भविष्य उज्ज्वल बनाउन तिर हातेमालाे गराै ।
✍केशव राज भट्ट
कम्प्युटर इन्जिनियरिङ सहायक प्रशिक्षक
